रुकुम पश्चिममा बीभत्स अवस्थामा एक महिलाको शव फेला , बलात्कारपछि हत्या गरेको अनुमान

रुकुम पश्चिममा बीभत्स अवस्थामा एक महिलाको शव फेला परेको छ । चौरजहारी नगरपालिका–८ टाकुरा टोल नजिकैको जंगलमा करिब ५५ वर्षीया देवकला घर्तीको बीभत्स अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । प्रारम्भिक अध्ययन बाट प्रहरीले उक्त घटना बलात्कारपछि हत्या भएको हुन सक्ने अनुमान गरेकाे छ । देवकला गत माघ २५ गते सामान किन्न बजार निस्केको थिइन ।उनी लामो समय सम्म पनि सम्पर्कमा नआएपछि आफन्तले खोजी गरिरहेका थिए । बिहीबार बिहान जंगलमा उनको धोती (साडी), माला, चप्पल, चुरा लगायतका सामान भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । देवकला जंगलमा शरीरको माथिल्लो भागमा कालो रङको ब्लाउज र कम्मरभन्दा मुनि नांगो अवस्थामा सालको काठले हल्का च्यापी राखेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । घटनाको बारेमा विस्तृत अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।घटनास्थलमा थोरै रगत पनि देखिएको प्रहरीले बताएको छ । मृतक देवकलासँग सुन भएको र एउटा सानो तिलरी मात्रै भेटिएको बताइएको छ ।